माउन्ट गौरीशंकर अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता चरीकोटमा जारी, बंगलादेशका फिडेमास्टर अमिनुल इस्लाम उपाधि नजिक
उमेश केसी, अन्र्तराष्ट्रिय आर्विटर
दोलखा असोज ३, 
जिल्ला सदरमुकाम चरिकोटमा संचालन भइरहेको माउन्ट गौरीशकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता अन्र्तगत बुधबार आठौं तथा नवौं चरणका खेल सम्पन्न भएका छन् । आठौं चरणको खेलमा अस्ट्रेलियाका २४११ रेटेड अन्र्तराष्ट्रिय मास्टर अलेक्स्यान्डर वलमाथि सानदार विजय हात पारेका २२६८ रेटेड बंगलादेशी फिडेमास्टर अमिनुल इस्लामले नवौं चरणमा नेपालका फिडेमास्टर २११८ रेटेड मनिष हमालसँग बराबरी खेल्दै आफ्नो उपाधि यात्रा सहज पारेका छन् । उनको ९ खेलबाट उनको ८ अंक भएको छ । सेतो गोटीमा रोयलोपेज प्रणालीबाट खेल शुरु गरेका अमिनुलले शुरुवात देखि नै वललाई दबाबमा राखे । खेलको २२ औं चालमा एउटा सिपाही गुमाउन पुगेका अलेकस्यान्डरले ३२ औं चालमा अमिनुललाई खेल सुम्पिए ।
पूर्व नेपाल च्याम्पियन २०७५ रेटेड सुरविर लामा नवौं चरणमा एनसीसी कपका विजेता १९६९ रेटेड राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरीमा रोकिएपनि ७ अंकका साथ दोश्रो स्थानमा उक्लिएका छन् ।  यसअघि लामाले आठौं चरणमा भारतका १७७८ रेटेड १० वर्षीय सौरभ आनन्दलाई हराएका थिए । उनीसँगै भारतीय अन्र्तराष्ट्रिय मास्टर अतानु लाहिरी, अलेकस्यान्डर वल,  राजेन्द्रप्रसाद श्रेष्ठ तथा नेपाली फिडेमास्टरद्धय मनिष हमाल र विलमलाल श्रेष्ठ समान ७ अंकमा रहेका छन् ।
आठौं चरणमा अमिनुलसँग पराजीत अस्ट्रलीयाका अन्र्तराष्ट्रियमास्टर अलेकस्यान्डर वलले नवौं चरणमा नेपालका युवा खेलाडी २०२२ रेटेड राजन पुरीलाई हराए । अर्का अन्र्तराष्ट्रियमास्टर २३३२ रेटेड अतानु लाहिरीले आठौं तथा नवौं चरणमा नेपालका १९३१ रेटेड सुदिप बज्राचार्य र २०२२ रेटेड मदनकृष्ण कायस्थलाई पराजीत गरे । 
नवौं चरणमा इमानुलसँग बराबरी खेलेका फिडेमास्टर हमालले आठौं चरणमा नेपालकै क्यान्डिडेटमास्टर २१२८ रेटेड केशव श्रेष्ठसँग बराबरी गर्न सफल रहे । केशव श्रेष्ठ, मदनकृष्ण कायस्थ, भारतका अन्तरीप रोय, सौभीक चक्रवर्ती, सौरभ आनन्द, नेपालका निरज निरौला र बद्रीलाल नेपालीको समान ६ दशमलब ५ अंक रहेको छ । त्यस्तै राजन पुरी, सुरज पण्डित, रविन्द्र श्रेष्ठ, मिलन रोका, कृष्ण थापा, धिरव राजथला र सुमन श्रेष्ठ समान ६ अंकमा रहेका छन् ।
प्रतियोगिता अन्र्तगत दशौं तथा फाइनल चरणका खेल बिहिबार बिहान ८ बजेबाट शुरु हुनेछन् ।

No comments:

Post a Comment