सन्दर्भ ‘ख्रीष्टमस’को – राजेश भुजेल


ख्रीष्टमस इसाईहरुको महान पर्व हो । ‘ख्रीष्ट’ चाँहि एउटा ग्रीक शब्द हो, जसको अर्थ ‘अभिषेक’ भएको व्यक्ति हो । उही शव्द हिब्रु भाषमा ‘मसीह’  हो । परमेश्वरले येशू ख्रीष्टलाई अर्थात मसीहलाई संसारको मुक्तिदाता हुनलाई  अभिषेक गर्नुभयो ।  येशूको अर्थ मुक्ति दिने व्यक्ति भन्ने हुन्छ । सबै मानिसहरुलाई तिनीहरुका पापबाट मुक्ति दिनका लागि मुक्तिदाताको रुपमा येशूलाई अभिषेक गरिएको कुरा बाइबल धर्मशास्त्रले बताउँछ । यो पर्व मनाउने चलन इश्वी सम्वत ३३६ ए.डी. मा रोमबाट सुरु भएको इतिहास पाइन्छ । प्रत्येक वर्षको डिसेम्बर २५ तारीकका दिन विश्वभरका इसाइहरुले ख्रीष्टमसलाई एक महान चाडको रुपमा मनाउने गर्दछन् । अहिले आएर गैरइसाईहरुले पनि यस चाडमा समावेश भएर रमाइलो गर्न थालेका छन् ।
यस दिनको एक हप्ता पछि नयाँ वर्ष सुरु हुने भएकोले पनि यो चाडको महत्व बढेको हुन सक्छ । ख्रीष्टको जन्मदेखि नै अंग्रेजी मिति कायम भएको पाइन्छ । अंग्रेजी शब्दकोष अनुसार येशूको जन्म भन्दा पहिलेको समयलाई बी.सी. भनिन्छ भने पछिको समयलाई ए.डी. भनिन्छ । यसरी येशूको जन्मको आधारमा अंग्रेजी मिति सुरु भएको इतिहास पाइन्छ । रोमी सम्राट कन्सनटेन्टाइनले इसाई मत ग्रहण गरेपछि येशूको जन्मदिन मनाउनुपर्छ भनेर घोषणा गरेका थिए । बी.सी. ३१ देखि ए.डी. १४ सम्म कैसर रोमी साम्राज्यको सम्राट थिए । जुन ठाउँ अहिले आएर इटलीको राजधानी भएको छ । सम्राट कैसरले पश्चिम यूरोपको सबै राज्यहरुमा शासन गरेको इतिहास पाइन्छ । पछि आएर सिजर अगष्टसले पश्चिमी यूरोप कब्जा गरी शासन गर्दा आफ्नो शासनभित्रको क्षेत्रको जनगणना गर्ने इच्छा गरेर जनगणना लिन कर्मचारीहरुलाई ठाउँ ठाउँमा खटाएका थिए । त्यसैबेला येशूका बाबु आमा आफ्नो नाम लेखाउनलाई इस्राएलको बेथलेहेम गाउ जानुपरेको थियो । त्यही बेला योसेफ र मरियम इस्राएलको बेथलेहेम भन्ने गाउँमा जाँदा त्यही नै येशूको जन्म भएको थियो । येशूको आमा बुवा गालीलको नासरत भन्ने ठाउँका थिए । येशू ख्रीष्टको जन्म बेथलेहेम भन्ने ठाउमा भएको थियो ।
येशूका चेला लूकाले येशूको बारेमा वर्णन गरेको इतिहास अनुसार येशू जन्मेको ठाउँमा प्रशस्त गाई गोठालाहरु बस्दथे । तिनै गोठालाहरु मध्ये एक जना प्रभुभक्त भएका थिए । त्यही भक्तको कारणले गर्दा त्यस ठाउँमा प्रभुको दृष्टि अर्थात तेज परेको थियो । त्यो तेजले गर्दा त्यहाँको गोठालाहरु डराए । स्वर्गबाट प्रभूका दूतले “तिमीहरु नडराओ बरु समाचार आनन्दले सुन” भने । त्यहाँ येशूको जन्म भएको खबर स्वर्गदूतहरुले एउटा सामान्य गोठालाहरुमाझ बताएका थिए । जब स्वर्गदूतहरु गोठालाहरुमाझ प्रकट भए, त्यतीबेला प्रभुको तेज गोठालाहरुको वरीपरी चम्केकाले तिनीहरु अति साह्रै डराएका थिए । त्यही समयमा स्वर्गदूतहरुले गोठालाहरुलाई सन्देश दिएका थिए  “आज दाउदको शहरमा एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ ख्रीष्ट मसिह प्रभु हुनुहुन्छ ।” त्यो सबैका लागि शुभ समाचार थियो । ख्रीष्ट मुक्तिदाताको रुपमा यस संसारमा जन्मनुभएको कुराले स्वर्गदूतहरुले पनि रमाहट गरेको कुरा येशूका चेला डाक्टर लूकाले बताएका छन् । येशूका अर्का चेला मत्तिले स्वर्गदूतले ‘मरियमले जन्माएको बालकको नाम येशू राख्नु’ भनेर योसेफलाई आज्ञा गरिएको थियो भन्ने कुरा उल्लेख गरेका छन् । ‘येशू’ चाहीँ हिब्रू नाउँ ‘यहोशू’ को ग्रीक अनुवाद हो । येशू र यहोशूको अर्थ ‘प्रभुले उद्धार गर्नुहुन्छ’ भन्ने हुन्छ । येशू मानिसको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा लेखकहरुबाट बुझ्न सकिन्छ । येशूको जन्मको यो उत्सवलाई आज विश्वका सबै देशहरुमा ख्रीष्टमसको रुपमा हर्षोल्लासका साथ मनाइने प्रचलन बढ्दै गएको छ ।
सोभियत यूनियनमा रसियन क्रान्तिपछि करिब ७५ बर्षसम्म ख्रीष्टमस मनाउन प्रतिबन्ध लगाइए पनि हाल आएर अमेरिका लगायतका देशहरुमा ख्रीष्टमसको चहलपहल २५ डिसेम्बर भन्दा अघिदेखि र नयाँ वर्षको पहिलो दिनसम्म नै हुने गर्दछ । येशू ख्रीष्ट जन्मनुभएको बार, मिति, समय र ख्रीष्टमस मनाइएको उदाहरण बाइबलमा कतै पनि उल्लेख गरिएको छैन । तर बाइबलमा यसरी उल्लेख भएको छ कि ख्रीष्ट येशूको जन्म भएको हो, बार मिति समय थाहा नभए पनि यस्तै चिसो मौसममा उहाँको जन्म भएको हो । यही कुरा येशू जन्मनु भन्दा ७५० वर्ष अगाडिदेखि नै अगमवाणी हँुदै आएको थियो । हाल आएर विश्वका सबै देशहरुमा मनाइने यो पर्वको मुख्य विशेषता भनेको प्रमेश्वरको प्रेम झल्काउनु हो । किनकि परमेश्वरले प्रेम प्रकट गरेर आफ्नो एक मात्र पुत्रलाई संसारमा पठाउनुभयो र आपूm बलिदान भएर परमेश्वर र मानिससँग मिलाप ल्याउनको निम्ती येशूले संसारमा जन्म लिनुभएको थियो ।
स्वीडन, अमेरिका, बेलायतमा ख्रीष्टमस मनाउन सार्वजनिक विदा दिइन्छ । २०६४ साल पौष १२ गते नेपाल सरकारले पनि ख्रीष्टमसलाई राष्ट्रिय चाडको मान्यतासहित पुष १० गते एक दिनको लागि सार्वजनिक विदा दिने निर्णय ग¥यो र २०६५ सालदेखि उक्त निर्णय कार्यन्वयनमा आएको छ । ख्रीष्टमसलाई राष्ट्रिय चाडको मान्यता दिइसकेको र अन्तरिम संविधानमा समेत धर्म निरपेक्ष राष्ट्र लेखिएको अवस्थामा पनि राज्यले विभिन्न धर्मवलम्बिहरुलाई दिने सुविधामा भेदभाव गर्नु हँुदैन । अहिले कुनै चाडमा धेरै दिनको लामो  विदा दिइएको छ भने ख्रीष्टमसको लागि एक दिनको मात्र । यस्तो विभेदले गर्दा ख्रीष्टमस जस्तो पर्वमा दिइएको एक दिनको छोटो विदामा धेरै कामहरु भ्याइनभ्याइकन सिध्याउन बाध्य भइरहेका छन् । येशूको सन्देश बाड्नलाई ठाँउ ठाँउमा जान र कार्यक्रमहरु गर्नलाई र आफन्तहरुसँग  भेटघाट गर्न पनि नभ्याइने र केवल चर्चमा कार्यक्रम गर्न मात्रै समय पुग्ने भएकोले ख्रीष्टमसको विदा केही दिन बढी भए सहज हुने थियो । यसको लागि परमेश्वरमा प्रार्थना चढाउनेछौं ।
नेपालमा पनि इसाईहरुले केही वर्ष यता धूमधाम रुपमा ख्रीष्टमस मनाउन थालेका छन् । डिसेम्बर २५ भन्दा  अगाडिदेखि नै ख्रीष्टमसको रौनकता छाउन सुरु हुने भएतापनि पुष १० गते भने येशू ख्रीष्टको जन्ममा रमाहट गरी ख्रीष्टमसको शुभकामना सहित उपहार आदनप्रदान गर्न मानिसहरुको जमघट हुने गर्दछ । हाल गैरइसाईहरुमाझ पनि लोकप्रिय बन्दै गएको ख्रीष्टमसमा येशूको जन्ममा आधारित भएर क्यारोल खेल्नु, ख्रीष्टमस ट्री घरमा सजाउनु, मैन बत्ति बाल्नु आदिको पनि छुट्टै महत्व छ भने ख्रीष्टमस कार्ड बाड्नुको पनि अर्कै महत्व रहेको छ । ख्रीष्टमसको अवसरमा काठमाण्डौ लगायतका शहरहरुका बजार, गल्ली, तारे होटल, सुपर मार्केट आदि ठाउँहरुमा विशेष छुट सहित व्यापार र व्यवसायहरुको प्रवद्धन गरिरहेको पाइन्छ भने कतै सामाजिक कार्यमा पनि प्रयोग गरिने गरिएको छ । आजकाल त्यस्ता व्यापारिक केन्द्रहरुमा ख्रीष्टमसको दिन सुसमाचार सुनाउन भनेर अफर पनि आउने गरेको छ । क्यारोल खेलेर जम्मा भएको भेटीले बाटो घाटो निर्माण, अनाथलाई सहयोग, सरसफाई जस्ता सामाजिक कार्यहरु गर्ने थालनी पनि भएको छ, यो एकदमै राम्रो पक्ष हो ।
ख्रीष्टमस भन्ने वित्तिकै येशूको जन्मउत्सवमा मनाइने एउटा महान पर्व हो र यसमा मुक्तिदाता येशूको जन्म भएको घोषणा गर्दै संसारका सबै मानिसहरुलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, ख्रीष्ट येशू मुक्तिदाता हुनुहुन्छ, ख्रीष्ट येशूमा जीवन छ, ख्रीष्ट येशू साँचो परमेश्वर हुनुहुन्छ र जिवित परमेश्वर हुनुहुन्छ भनेर सारा संसारलाई दिने एउटा सन्देश नै ख्रीष्टमसको मुख्य सन्देश हो । उक्त सन्देशलाई क्यारोलमार्फत घरघरमा सुनाउने र उहाँको जन्मको घोषण गर्ने गरिन्छ । हामीमा हरेक दिन ख्रीष्टमसमा जस्तै उत्साह र उमंगमा ख्रीष्टिय जीवन बिताउनुपर्दछ । विविध सकारात्मक पाटोहरुका बिचमा पनि खी्रष्टमस भित्र केही विक्रितीहरु पनि भित्रिरहेका छन् । जस्तै यूवा पुस्ता र अन्य व्यवसायीमाझ यो पर्व सामान्य मनोरञ्जन, व्यापार र नाफा नोक्सान, लेनदेन आदि इत्यादिको रुपमा भएको देखिन्छ । ख्रीष्टमसको नाउँमा हुने व्यापारिकरण तथा जथाभावि रमाइलो गर्दा यसको महत्वपूर्ण पक्ष भने ओझेलमा पर्न जाने निश्चित छ । त्यसैले अन्य सँस्कृतिको नक्कल गरेर वा नकारात्मक ढंगले भड्कीलो र खर्चिलो किसिमले नभई परम्परा र सँस्कार सँस्कृतिलाई जोगाउँदै अध्यात्मिक उन्नती तर्फ उन्मुख भइ शान्ती र सद्भाव फैलाउने किसिमको बाइबलमा आधारित  ख्रीष्टमस मनाउन सके यो महान उत्सव चाड, साँच्चैको सार्थक हुने छ । अन्तमा यो वर्षको ख्रीष्टमसको उपलक्ष्यमा सम्पूर्ण इसाई समुदायमा शुभकामना ‘विशेष गरी देशमा शान्ती, सुव्यवस्था कायम होस, देशका सम्पूर्ण नागरिकहरु उन्नती र प्रगतीमा अघि बढ्न सकून’ नयाँ वर्ष सन् २०१४ को हार्दिक शुभ–कामना ।

No comments:

Post a Comment