जीवन गवाही – मन बहादुर थामी


मेरो नाम मन बहादुर थामी हो । स्थाई घर जनकपुर अन्चल दोलखा जिल्ला, खारे गा.बि.स, छेसा खारे वाड नं.९ मा बसोबास गर्दै आएको छु । मेरो जन्म १९९९।४।२२ गते दार्जिलिङ्गमा भएको थियो । बृटिसको समयमा बुबा आमा दार्जिलिङ्गमा गएका हुनाले म त्यहीँ जन्मेको थिएँ । मलाई सानै उमेरमा घर फर्काइएको थियो र मलाई मेरी हजुर आमाले गान्वा भन्ने नाम राखिदिनु भएछ । खारे गाँउमा नै हुर्के र बढेँ, तर पढ्न भने पाइएन किनकि स्कुलहरु थिएन, ठूलो भएपछि सन १९६१ साल मा भारतको ४÷४ जि.आर मा भर्ना भै जागिर खाएँ र सिम्ला सापटु युपिमा तालिम लिएँ । सन १९६२ मा सिकिम्मा चाइना र भारतको लडाईँमा भाग लिएको थिएँ । नो म्यान ल्याण्डमा दुवै तर्फबाट फायर चलिरहन्थ्यो । हामी यो लडाईमा तीन बर्षसम्म रह्यौं । त्यसपछि १९६५ सम्म म गनर थिएँ । पाकिस्थान र भारतको बिच भएको युद्धमा पनि राजस्थानमा भाग लिएको थिएँ । यसबेला ८१ मि.मि.मा बम्वार्ड गर्ने मोटर ल्पाटुनमा काम गर्ने मौका पाएको थिएँ । यस बेला म अमल्दार भै सकेको थिएँ, सन १९६५ को लडाई सकिएपछि मोहनटाआवुमा गएपछि तीन बर्ष सम्म आनन्दसाथ रह्यौं । सन १९७१ मा पाकिस्थान र भारतको अर्को युद्ध भयो । यस बेला हाम्रो बृगेड हेडक्वाटर लदाक दरबुक भन्ने स्थानमा थियो । त्यहाँबाट लडाईमा हवाई जहाज द्धारा पर्तापुर ओर्लेर बुकडङ्ग भन्ने ठाँउबाट अगाडी बढेर सिपिपोष्ट क्याप्चर गरेर ४ महिनासम्म डिफेन्समा बस्यौं । यस बेला पाकिस्थानलाई हाम्रो फौजले क्याप्चर गरेको कारण हामीले पाकिस्थानको राशन पानी खायौं । यसपछि उरी सेक्टरमा र थामजोडी सेक्टरमा २ बर्षसम्म डिफेन्समा बसेपछि डेरादुन एकाडेमीमा गएँ । एकाडेमीमा जर्नेलको साथमा २ बर्ष बसेपछि फेरी आफ्नो पल्टन पालमपुर गए र ३ बर्षसम्म मेस हवल्दारको काम सम्हालेर बसेको थिए । नेपालको बोडर दार्चुला र चाइना बोडरमा गएर ३ बर्ष सम्म भगत बटालियनमा क्वाटर मास्टर काम गरेरर बसँे । त्यसपछि कलकत्ता फोडेलिम एकाइस व्यारेकमा किल्ला भित्र ३ बर्ष बसेको थिएँ । आशम विरुहवाई भेरान्डी स्कुलमा गएर ४ महिने जंगलवारफेर तालिम गरेँ । यसपछि नागाल्याण्ड मोहन डिस्टीक चाम्पाङ्ग गएर बसँे । उक्त स्थानबाट बर्माको लडाईमा गएको थिएँ । यसबेला नागाहरुले तीनवटा गाडीहरु नष्ट पार्नुको साथै तीनजना मानिसहरु पनि मारिदिए । बर्मामा गएर अटयाक गरेको तर त्यहाँ कुनै उपलव्धी हाँसिल भएन । त्यहाँ बमवार्ड गरियो तर मानिसहरु भागेका रहेछन त्यहाँ भएका गाई बस्तुहरु मात्र नष्ट भए । यो अप्रेशनपछि म चम्पाङ्ग आएर पेन्सनमा आएँ । यसरी बिभिन्न परिस्थितिहरु पार गर्दै  २२ बर्ष भारत आर्मीमा जागिर खाएर ३० नोभेम्वर १९८३ सालमा पेन्सन पाकेर घर फर्किएँ । आर्मीमा रहँदा नायव सुवेदार सम्मको पद प्राप्त गरेको थिएँ । म आर्मीमा हुँदा नै मलाई खतरा बिमार मुटुको रोग लागेको थियो । मुटुको रोग लाग्नुको कारण बढी मात्रमा रक्सी सेवन गरेर नै हो । मेरो जीवनमा धेरै आपद विपदहरु आइ परेको कथा सुनाउन गैरहेको छु । नेपालमा फर्केपछि आगो लागि भएर घर गोठ नष्ट भयो, फेरी जोड जाम गरँे । पुनः २०४३ सालमा बाढी लागेर घर गोठ मात्र नभएर जग्गा जमिन पनि बाढीले लग्यो र म बिस्तापित नै भएको थिएँ । बाडी लागेपछि लगतै तीन वटा झुटा ज्यान मुद्धा पनि लाग्यो । पहिलो छोरी ज्वाँई पौडी खेल्दा डुवेर मरेछन् अप्टी मलाई लाग्यो । दोश्रो रुख ढाल्दा काम गर्ने मानिस अपोजिट दिशातर्पm भाग्दा रुखको हाँगाले लागेर लडेर भिरमुनि पुग्दा घाउचोट लागेको कारण ज्यान जिम्मा दिईएको थियो । तेश्रो दाउरा काटदा छाङ्गा मुनि खसेको हुँदा मानिस नमरेपनि ज्यान मुद्धा लागेको थियो । यति मात्र होइन २०५३ साल मंसिर २३ गते मेरो पहिलो श्रीमती धनमाया थामीको मृत्यु भएको थियो । यति ठूलो घात मेरो जीवनमा आई परेको भएतापनि सहनु परेको थियो । जेठी श्रीमतीबाट तीन छोरा तीन छोरी भएकोमा हाल मसंग एक छोरा तीन छोरी जिवितै छन् । छोरीहरुबाट नाती नातिनीहरु भैसकेका छन् । तापनि श्रीमतीको मृत्युपछि एकलोपन भएको र आफु पनि निक्कै बिमारी परेको हुँदा प्रभु येशू ख्रीष्टमा बिश्वास गर्न लागेँ र २०५४।६।१९ गते मेरो दोश्रो विवाह भएको थियो । दोश्रो पत्नी रत्न कुमारीबाट दुई छोरा एक छोरीको जन्म भएको छ । हाल मेरो सबै परिवार येशूमा भएर जिएका छौं । हाल म सिंगटीमा आफ्नै घर बनाएर बसेको छु । सिंगटी मण्डलीको सेवकको रुपमा परमेश्वरले खडा गर्नु भएको छ । बिश्वास गर्नुको खास कारण मुटुको रोगले पिडित थिएँ, त्यसैमा ग्यास्टीक र सुगरको रोग पनि थपिएको थियो । रोगकै कारणले प्रभुलाई बिश्वास गरेको थिएँ, तर प्रभुले बचाउनु भएको छ र अनन्त जीवन दिनु भएको छ । शान्ति र आनन्दको जीवन जिइरहेको छु । आमेन ।

No comments:

Post a Comment