राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता, शिर्ष खेलाडीको विजयी शुरुवात

इलाम, ९ असोज ।
जिल्ला सदरमुकाम इलामबजार स्थित स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मंगलबारबाट राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेलहरु शुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भए । पहिलो दिनको खेलमा शीर्ष बरियताका अधिकांश खेलाडीले जित हासिल गरे । 
इलाम बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा रसियन ग्रान्डमास्टर अलेक्जेन्डर फोमेनी, अस्ट्रेलियाका इन्टरनेशनल मास्टर अलेकजेन्डर वोल र नेपाली फिडेमास्टरहरु मनीष हमाल र सुजेन्द्रप्रसाद श्रेष्ठले सहज जित हासिल गरे । त्यस्तै, भारतका निलद्रि शेखर भट्टाचार्य, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले पनि अपराजित रहदै दुई अंक हासिल गरे । झापाका निरज निरौला, अनिल राजवाहक, भारतका दिलिप दास, भक्तपुरका गणेशमान दुवाल, कृष्ण थापा र मदनकृष्ण कायस्थले पनि पोल्टामा दुईअंक हासिल गरे । स्थानीय तीर्थमान राई काजीले पनि दुबै चरणमा सफलता हात पारे । तर तेस्रो वोर्डमा रहेका बंगलादेशी फिडेमास्टर अमिनुल इस्लाम भने दोस्रो चरणमा भारतका रौनक मण्डलसँग बराबरीमा रोकिएपछि १.५ अंक मात्र बटुल्न सफल रहे । स्मरण रहोस् इस्लाम गतहप्ता चरिकोटमा सम्पन्न माउण्ट गौरीशंकर अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता हुन् । 
गजुरमुखी निर्माण कम्पनिको मुख्य प्रायोजन र नेपाल निर्माण ब्यवसायी महासंघ काठमाडौंको सहप्रायोजनमा संचालित प्रतियोगितामा ग्रान्डमास्टर फोमेनीले पहिलो चरणमा आशुतोष कुमार र दोस्रो चरणमा राजेन्द्र राईलाई पराजित गरे । इन्टरनेशनलमास्टर  वोलले भने पहिलो चरणमा भारतका अभिरुप कुन्डु तथा दोस्रोमा विकास कुमार द्धिवेदीलाई पन्छाए । मनीषले भने प्रसान्त चेम्जोङ र अनुस्टुप विश्वासलाई हराए । सुजेन्द्रले गणेश घिमिरे र डा. बद्रीप्रसाद थैवलाई हराए । पहिलो चरणमा वाइपाएका गणेशमानले देवदास राहुललाई पराजित गरेका थिए । इलामका तीर्थमानले पहिलो चरणमा मकवानपुरका बलराम संजेल तथा दोश्रोमा माधव चौंलागाईंलाई हराए । 
धुव्रतारा क्लव झापाका निरजले पहिलो र दोस्रोमा भारतका धन्य दाश र दोस्रोमा नेपालका राजेन्द्रप्रसाद रिजाललाई हराएका थिए । 
पहिलोमा देवराज घिमिरेलाई हराएका गोल्डेनगेट कलेजका मदनकृष्णले दोस्रोमा राहुल गुरुङलाई पराजित गरेका थिए । पुरुषोत्तम चौलागाईले पनि दुवै चरणमा जित हासिल गरे । प्रतियोगिताका सवैभन्दा पाका खेलाडी सिताराम अग्रवालले भने मिश्रित नतिजा हासिल गरे । कामपा २५ वडा टोलसुधार समितिका उनले पहिलो चरणमा कृष्ण गोपाल नापितस“ग पराजित भएपनि दोस्रोमा वेदमंगल खतिवडालाई हराउदै खाता खोले  । 
फिडेको स्विस लिग प्रणाली अनुसार १० चरणसम्म संचालन हुने प्रतियोगिताको विजेताले ६० हजार, दोश्रो हुनेले ४० हजार  तथा तेश्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । जम्मा नगद पुरस्कार ३ लाख रुपैंया रहेको प्रतियोगितामा विभिन्न ४० विधामा उत्कृष्ट खेलाडीले नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा नेपाल सहित रसिया, अस्ट्रेलीया, अमेरिका, क्यानाडा, भारत र बंगलादेशका १३९ खेलाडीको सहभागीता रहेको आयोजक गजुरमुखी चेस क्लबका अध्यक्ष माधव चौंलागाईंले बताए ।
–उमेश केसी, अन्र्तराष्ट्रिय आर्विटर

No comments:

Post a Comment